बिहीबार, २७ वैशाख २०८१
DainikNepal.com
बिहीबार, २७ वैशाख २०८१

खोप लगाउनेलाई सय डलर दिन राज्यहरूलाई राष्ट्रपति बाइडनको आह्वान

दैनिक नेपाल २०७८ साउन १५ गते ७:२६

न्युयोर्क, १५ साउन । अमेरिकी राष्ट्रपति जो बाइडनले सङ्क्रमण बढिरहेका बेला खोप लगाउने दरमा देखिएको कमीलाई सम्बोधन गर्नका निम्ति खोप लगाउने नयाँ व्यक्तिलाई प्रतिव्यक्ति १०० डलर रकम दिन राज्यहरूलाई आह्वान गरेका छन् ।

उनले सङ्घीय सरकारका कर्मचारीका लागि पनि नयाँ कडा खोपसम्बन्धी निर्देशन जारी गरेका छन् । अमेरिकामा सङ्घीय सरकार सबैभन्दा ठूलो रोजगारदाता हो । सङ्घीय सरकारका निकायहरूमा करिब २० लाख मानिसहरू काम गर्छन् ।

बाइडनले जारी गरेको निर्देशन अनुसार अब कर्मचारीहरूले खोप लगाएको प्रमाण देखाउनु पर्नेछ वा अनिवार्य परीक्षणको सामना र मास्क लगाउन तयार हुनुपर्नेछ । आधिकारिक विवरण अनुसार हालसम्म अमेरिकामा आधा जनसङ्ख्याले मात्र खोपको पूरा मात्रा लिएका छन् ।

बिहीवार ह्वाइट हाउसमा बोल्दै बाइडनले बढी सङ्क्रामक डेल्टा भेरिअन्टका कारण नयाँ प्रतिबन्धहरू लगाउनु परेको बताए । उक्त भेरिअन्टले खोप नलगाएकाहरूमा महामारी निम्त्याएको छ ।

बाइडनले पहिले नै खोप लगाइसकेका अमेरिकीहरूका लागि न्यायसङ्गत जस्तो नदेखिए पनि सबैका हितका लागि नगद प्रोत्साहन दिने घोषणा गरिएको बताए । अमेरिकी राज्यहरूलाई खोप लगाउने नयाँ व्यक्तिहरूलाई अब प्रतिव्यक्ति एक सय डलर दिन उनले आह्वान गरेका छन् ।

उक्त रकम राज्यहरूले अमेरिका रेस्क्यु प्लान अन्तर्गत रहेको १.९ ट्रिलियनको कोषबाट प्रयोग गर्न सक्नेछन् । बाइडनले खोप लगाउन कामदारलाई समय दिने साना र मझौला व्यवसायमा त्यसबाट पुगेको आर्थिक क्षतिको सङ्घीय सरकारले परिपूर्ति गरिदिने बताए ।

यद्यपि खोप लिन अस्वीकार गर्ने सरकारी कर्मचारीलाई जागिरबाट निकालिने छैन । ह्वाइट हाउसले देशभरिका अन्य रोजगारदाताका लागि पनि त्यस्तै गर्न प्रोत्साहित गर्नका निम्ति उक्त कदम चालेको हो ।

गत महिनाको एउटा अध्ययनले अमेरिकामा ९९ प्रतिशत कोभिडसम्बन्धी मृत्यु खोप नलगाएका व्यक्तिमा देखाएको छ । सेन्टर्स फर डिजिज कन्ट्रोलको पछिल्लो विवरण अनुसार त्यहाँ करिब ७० प्रतिशत वयस्कले कम्तीमा पहिलो मात्रा खोप लगाएका छन् । तर अमेरिकामा खोप लगाउने मात्रा क्षेत्रीय हिसाबले फरक(फरक छ ।

दक्षिण र पश्चिम क्षेत्रमा खोप लगाउनेहरू कम छन् र ती क्षेत्रहरूमा अहिले कोभिड महामारी फैलिरहेको छ । अहिले अमेरिकामा प्रतिहप्ता करिब दुई हजार व्यक्तिको कोभिडका कारण निधन भइरहेको छ । त्यस्तै त्यहाँ दैनिक सङ्क्रमण दर पनि ६० हजारसम्म रेकर्ड भएको छ । बीबीसी

प्रतिक्रिया
सम्बन्धित