शनिबार, १५ वैशाख २०८१
DainikNepal.com
शनिबार, १५ वैशाख २०८१

नक्साल भगवती र जय नेपाल चोकमा ट्राफिक बत्ती जडान

दैनिक नेपाल २०७८ साउन १५ गते १८:४८

काठमाडौँ, १५ साउन । नक्साल भगवती र जय नेपाल चोक अगाडि ट्राफिक बत्ती जडान गरिएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ महानगरपालिका–१ को सहकार्यमा जय नेपाल चोक र कुमारी बैंकको सहकार्यमा नक्साल भगवतीको चोकमा ट्राफिक बत्ती जडान गरेको हो ।

जय नेपाल चोकमा जडान गरिएको बत्तीको महाशाखाका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराई र कामनपा–१ का वडाअध्यक्ष भरतलाल श्रेष्ठले संयुक्त उद्घाटन गरे ।

यस्तै, नक्साल भगवतीमा जडान गरिएको बत्तीको महाशाखा प्रमुख भट्टराई र कुमारी बैंकका अधिकृत रामचन्द्र खनालले उद्घाटन गरेका थिए ।

कार्यक्रममा महाशाखाका प्रमुख भट्टराईले प्रविधिमार्फत सडक व्यवस्थापनका लागि सडक बत्तीले सहयोग पुग्ने विश्वास व्यक्त गरे । “काठमाडौँ उपत्यकामा भइरहेको सवारी चाप, सवारी दुर्घटना तथा अन्य ट्राफिक समस्या समाधानको लागि प्रविधिको विकास र प्रयोगलाई महाशाखाले प्राथमिकता दिँदै आएको छ,” उनले भने ।

काठमाडौँ महानगरपालिका–१ का वडाअध्यक्ष श्रेष्ठले ट्राफिक बत्तीको प्रयोगले ट्राफिक व्यवस्थापन र दुर्घटना न्युनिकरणमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।

कुमारी बैंकका अधिकृत खनालले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत ट्राफिक बत्ती जडान कार्यलाई सहयोग गरिएको बताए । आगामी दिनपनि ट्राफिक प्रहरीसँग सहकार्य गर्ने उनको भनाइ थियो ।

महाशाखाले हालसम्म उपत्यकाका ३४ चोकमा ट्राफिक बत्तीमार्फत ट्राफिक व्यवस्थापन गर्दै आएको छ । ट्राफिक व्यवस्थापनलाई सुरक्षित, व्यवस्थित र सहज बनाउँदै दुर्घटना न्यूनीकरणको लागी आगामी दिनमा अन्य चोकमा ट्राफिक बत्ती जडानको लागि समन्वय गर्ने महाशाखाका प्रहरी नायव उपरीक्षक (डिएसपी) सुनिलजङ्ग शाहले जानकारी दिए । –रासस

प्रतिक्रिया
सम्बन्धित