शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

एमालेमा बिग्रह हुन्छ भनेर कसैले बाटो नकुरे हुन्छः ईश्वर पोखरेल (अन्तरवार्ता)

दैनिक नेपाल २०७८ मंसिर ७ गते २०:१०

फाइल तस्वीर

 

नेकपा एमालेका महाचिव ईश्वर पोखरले एमाले भित्र विग्रह हुन्छ भनेर कसैले बाटो हेरेको भए त्यो दिवा सपना मात्रै भएको बताउछन् ।

सहमति र समझदारीले नै नेतृत्व चयन गरी एमाले अघि बढेको बताउने महासचिव पोखरेल होडबाजी गर्नुपर्ने केही नभएको बताउछन् । महासचिव पोखरेलसँग महाधिवेशनसँग केन्द्रित भएर मोहन बास्तोलाले गरेको कुराकानीः

तपाईँहरु नेकपा एमालेको दसौँ महाधिवेशनको सम्मुखमा हुनुहुन्छ, तयारी के–के भैरहेको छ ?

हामी अहिले स्थायी कमिटीको बैठक बसिरहेको छौँ । यो बैठकले महाधिवेशनलाई केन्द्रित गरेर केही महत्वपूर्ण विषयमा छलफल गरिरहेको छ । यो बैठकमा मुख्य गरेर महाधिवेशनको तयारी र व्यवस्थापनसँग केन्द्रित छलफलको एजेण्डा बनाएका छौँ । दोस्रो, महाधिवेशनको खुला र बन्दसत्र कार्यक्रम कसरी गर्ने भन्ने एजेण्डा रहेको छ । तेस्रो, एजेण्डामा प्रतिनिधिहरुको छनोटसँग सम्वन्धित विषय छ । चौथो, मनोनित सम्बन्धमा छ । सम्पूर्ण प्रतिनिधिको पाँच प्रतिशत नबढ्ने गरी मनोनित गर्नुपर्ने हुन्छ । यो विषयमा पनि हामी गम्भीर ढंगले छलफल गरिरहेका छौँ । त्यसैगरी आजको बैठकमा निर्वाचन आयोगले निर्वाचनसँग सम्बन्धित मापदण्डलगायतका विषयमा जानकारी गराउने एजेण्डा पनि रहेको छ । केही सुझाव दिनुपर्ने भयो भने हामी उहाँहरुलाई सुझाव दिन्छौ । अघिल्लो केन्द्रीय कमिटी बैठकले नै महाधिवेशनसँग सम्बन्धित अन्य विषयहरु निर्णय गर्नुप¥यो भने स्थायी कमिटीले गर्ने अधिकार प्राप्त गरेको छ । हामी छलफलमा केही त्यस्ता निर्णय पनि आवश्यक पर्यो भने गर्छौ ।

महाधिवेशनको उद्घाटन सम्पन्न भएपछि त्यही दिन हामी केन्द्रीय कमिटी बैठक बस्छौ । त्यो बैठकमा स्थायी कमिटीले गरेका निर्णय त्यहाँ जानकारी गराउँछौ । आवश्यक प¥यो भने अनुमोदनका लागि प्रस्तुत गर्छौ । संभवतः यो कार्यकालको अन्तिम स्थायी कमिटी बैठक हुनेछ ।

यो बाहेक महाधिवेशनसँग अन्य तयारी के भैरहेको छ ?

हामीले व्यवस्थापनसँग सम्बन्धित विभिन्न १२ ओटा उपसमिति बनाएर महाधिवेशनको तयारीलाई तिव्र बनाएका छौ । सम्वन्धित समितिहरुले आ–आफ्नै ढंगले तयारी गर्नुभएको छ । त्यो बारे हामीले सबै उपसमितिसँग जानकारी लिएका छौ । उहाँहरु सबैले तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभएको छ ।

तपाईँहरु अप्ठ्यारो अवस्थामा दसौँ महाधिवेशन गर्न गैरहनु भएको छ । यो महाधिवेशनबाट एकताबद्ध एमालेको सन्देश दिनुपर्ने चुनौति पनि तपाईँहरुलाई छ । यसको व्यवस्थापन कस्तो भैरहेको छ ?

तपाईँहरु सबैलाई जानकारी भएकै कुरा हो । हामीले केही समय अघि मात्रै विधान महाधिवेशन सर्वसम्मतिका साथ निकै धुमधामसँग सम्पन्न गरेका छौ । त्यही महाधिवेशनबाट हामीले यो महाधिवेशनमा प्रस्तुत हुने दस्तावेज पारित गरेका छौ । यो भनेको हामीले एकताबद्ध एमालेको सन्देश विधान महाधिवेशनबाटै दिइसकेका छौ । नवौँ महाधिवेशनपछि गरेका बस्तुनिष्ठ समीक्षा सहितको राजनीतिक प्रतिवेदन हामीले विधान महाधिवेशनबाट सर्वसम्मत ढंगले पारित गर्नु भनेको सकारात्मक सन्देश हो ।

पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको त्यो प्रतिवेदन आउने दिनका लागि योजनाहरु र पार्टीलाई व्यवस्थित र सदृढ बनाउने नीतिगत योजनासहितको प्रतिवेदन हो ।

पार्टी निर्माणमा अब के–के कुरामा केन्द्रित हुने भनेर म महासचिवको तर्फबाट प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन पनि सर्वसम्मत रुपमा पारित भएको छ । करीब ६ हजार ४ सय प्रतिनिधिको उपस्थितिमा सर्वसम्मत पारित गर्नु भनेको चानचुने कुरा होइन । यसले अघि पनि भने सकारात्मक सन्देश दिएको छ ।

अबको महाधिवेशन भनेको नेतृत्व चयनको महाधिवेशन हो । हामीले पारित गरेको विधानबाट निर्देशित भएर हामी राष्ट्रिय महाधिवेशन सकेसम्म सर्वसम्मत ढंगले नेतृत्व चयन गर्छौ । विधान महाधिवेशनबाटै विचार र नीति सर्वसम्मत ढंगले पारित भएको छ भने नेतृत्व चयनमा हामीलाई त्यस्तो समस्या होला भने जस्तो लागेको छैन ।

भनेपछि तपाईँहरु नेतृत्व छनौट पनि सर्वसम्मत ढंगले नै गर्नुहुन्छ, होइन त ?

हामी यो पटक लोकतान्त्रिक अभ्यास गर्ने नाममा विगतमा जसरी समूह बनाएर लड्दैनौँ । हामी समूह अनुसारको सूचि पनि महाधिवेशनमा बाँड्दैनौँ । संविधानसम्मत र पार्टी विधानले अघि सारेको नीति अनुसार हामी क्लस्टर बनाएर नेतृत्व छनोटका काम सम्पन्न गर्छौ । हामी सकेसम्म सर्वसम्मत नेतृत्व छनोट गर्ने छौँ । त्यो संभव भएन भने विधानले निर्देशित गरे अनुसार प्रतिनिधि छनौट भएर आएका प्रतिनिधिलाई लोकतान्त्रिक विधिमा टेकेर योग्य साथीहरुलाई उम्मेदवार बन्ने कुरालाई हामी स्वीकार गर्छौ ।

महाधिवेशन सम्पन गरेसँगै स्थानीय तहको निर्वाचनमा होमिनुपर्ने छ । त्योसँगै प्रदेश र संघीय निर्वाचन पनि हुनेछन् । यी निर्वाचनमा एकतावद्ध र शक्तिशाली एमालेको पहिचान दिने कुरामा महाधिवेशन सफल होला ?

नेकपा एमालेलाई सुदृढ पार्टी बनाउने सन्देशसहित एकै दिन अघि मात्रै हामीले एकै दिन वडा, पालिकालगायतका अधिवेशन सम्पन्न गर्यौँ । त्यो भन्दा अघि हामीले विधान महाधिवेशन सम्पन्न ग¥र्यौ । अब केन्द्रीय महाधिवेशनको सम्मुखमा छौ । केन्द्रीय महाधिवेशन सम्पन्नसँगै हामी जिल्ला, प्रदेशलगायतका महाधिवेशन सम्पन्न गर्दैछौ । हामीले आफ्नो संगठनलाई विचार र विधानबाट व्यवस्थित गर्यौ । अब तलैदेखि व्यवस्थित गर्छौ र एमालेलाई शसक्त शक्तिका रुपमा पुर्नव्यवस्थितसहितको नेकपा एमालेका रुपमा हामी जनताको वीचमा जान्छौ । नेकपा एमालेसँग विचार छ, एजेण्डा छ, यसको कार्यक्रम छ, एजेण्डा छ, संगठन छ भन्ने सन्देश हामी दिन्छौ । यसरी सबै प्रतिकुलताको सामना गर्दै राष्ट्रिय राजनीतिमा नेतृत्वदायी भूमिका पूरा गर्ने हिसावले नेकपा एमाले अघि बढ्छ ।

आन्तरिक र बाह्य शक्ति तपाईँहरुको विपक्षमा छ । यस्तो अवस्थामा नेकपा माओवादीबाट आउनुभएका १० बुँदेलाई आधार मान्नुभएका सबैलाई समेट्नुपर्ने चुनौति पनि छ । यो सबै कसरी सहज ढंगले अघि बढ्ला ?

कसैले पनि एमाले भित्र विग्रह हुन्छ भनेर बाटो नहेरे हुन्छ । हामी सहमति र समझदारीले नै नेतृत्व चयन गर्छौ । यहाँ होडबाजी गर्नुपर्ने केही छैन । हामी के गर्दा उपयुक्त हुन्छ त्यहि गरेर अघि बढ्छौँ । यहाँ व्यक्तिगत होडबाजीको कुरा छैन । अहिले राष्ट्रिय आवश्यकता के–हो ? त्यसमा ध्यान दिनुपर्ने छ, हामी त्यहि अनुसार अघि बढ्छौ । हामी मध्येका साथीले के जिम्मेवारी लिने भन्ने कुराको निक्र्यौल गरेर अघि बढ्छौँ ।

नेकपा एमाले देश हाँक्ने पार्टी हो भन्ने एजेण्डा एमालेसँग के–के छ ?

हामीले आर्थिक विकास र समृद्धिको एजेण्डालाई बोकेका छौ । राष्ट्रिय स्वाभिमान र स्वतन्त्रता हाम्रो एजेण्डा हो । सामाजिक सद्भाव कायम गर्नु हाम्रो अर्को एजेण्डा हो । देश विकास गर्ने, देश बनाउने सपना सकार पार्ने हाम्रो अर्को एजेण्डा हो । यी एजेण्डा कार्यन्वयन गर्न हामी त्यहि अनुरुप ठोस योजना बनाएर अघि बढ्छ ।

प्रतिक्रिया
सम्बन्धित