शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

वैशाखमा स्थानीय निर्वाचन कठिन

स्थानीय तहका प्रतिनिधिको कार्यकाल समाप्तिको टुंगो लागेपछि मिति घोषणा हुन्छ

दैनिक नेपाल २०७८ माघ ८ गते ७:२८

काठमाडौं, ८ माघ । निर्वाचन आयोगले ५ जेठमा स्थानीय तहका प्रतिनिधिको कार्यकाल सकिने भन्दै वैशाखमा निर्वाचन गर्न प्रस्ताव गरे पनि यसको सम्भावना कमजोर हुँदै गएको छ ।

०७४ मा तीन चरणमा स्थानीय तहको निर्वाचन भएकाले आधिकारिक मितिमा अन्योल देखिएको भन्दै पाँचदलीय गठबन्धनले आयोग र संविधानविद्सँग परामर्श गर्ने निर्णय लिएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रवार बसेको गठबन्धनको उच्चस्तरीय राजनीतिक समन्वय समिति बैठकले पहिला स्थानीय तहको निर्वाचन भएको मितिको आधिकारिता टुंगाउने र त्यसपछि निर्वाचनको मिति घोषणा गर्ने निर्णय लिएको छ । गठबन्धनका एक शीर्ष नेताका अनुसार अब बैशाखमा स्थानीय तहको चुनाव कठिन भएको बताए ।

माघ पहिलो साताभित्र मिति नतोके बैशाखमा स्थानीय तहको निर्वाचन गर्न कानूनी र प्राविधिक कठिनाई हुने आयोगको ध्यानाकर्षण रहेकै बेला गठबन्धनले निर्वाचन पछाडि सार्ने विकल्प खोज्न थालेको हो । सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले २०७४ सालमा तीन चरणमा स्थानीय तहको निर्वाचन सम्पन्न भएकाले कुनलाई अन्तिम मिति मान्ने विषयमा अन्योल देखिएकाले संविधानविद र निर्वाचन आयोगसँग परामर्श गरेपछि अगाडि बढ्ने सहमति भएको बताए ।

‘वैशाख ३१, ०७४ मा पहिलो, १४ जेठमा दोस्रो र २ असोजमा तेस्रो चरणमा निर्वाचन सम्पन्न भएका थिए, अहिले पनि हामी स्थानीय सरकार प्रभावकारी बनाउने पक्षमै छौं । तर, स्थानीय सरकारको परिकल्पना गर्दै गर्दा सिंहदरबारको सेवा गाउँमै पुग्नुपर्छ भनेका हौँ त्यसैले स्थानीय सरकार मजबुत बनाउनेबारे बैठकमा गम्भीर कुरा भएको छ’ कार्कीले भने ।

संविधानको भावनाअनुसार पहिले स्थानीय तहकै निर्वाचन गर्ने विषयमा केन्द्रीत रहेर छलफल भएको बताए । ‘संविधानको भावनाअनुसार स्थानीय तह निर्वाचन घोषणा गर्ने विषयमा गम्भीर छलफल भएको छ’, बैठकपछि कार्कीले भने, ‘संविधान र कानुनमा रहेको द्विविधालाई हटाएर अगाडि बढ्ने कुरा भएको छ ।’

आयोगले १४ र २२ वैशाखमा स्थानीय तहको चुनावका लागि मिति तोक्न सरकारसमक्ष प्रस्ताव गरिसकेको छ । विहिबारको बैठकमा आगामी वैशाखमा स्थानीय तहको निर्वाचन घोषणा गर्ने, वैशाखमै संसदको निर्वाचन गर्ने कि तीनओटै तहको निर्वाचन वैशाख या मंसिरमा गर्ने विकल्पमा छलफल भएको थियो ।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमालेले संसद् अवरुद्ध पारिराखेकाले वैशाखमा स्थानीय तहको भन्दा पनि संसद्को निर्वाचन गर्दा उपयुक्त हुने प्रस्ताव यसअघि नै मंगलबारको समन्वय समितिको बैठकमा राखेका थिए । बिहीबार एकीकृत समाजवादीका अध्यक्ष नेपालले वैशाख या मंसिर जुनसुकै महिनामा गरे पनि खर्चका हिसाबले तीनवटै तहको निर्वाचन एकैपटक गर्दा उपयुक्त हुने धारणा राखेका थिए, आजको नयाँ पत्रिका दैनिकमा समाचार लेखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित