शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

नेताहरूमा फेरि उब्जियो संसद विघटनको डर, संघ र प्रदेशको चुनाव मंसिरमै !

दैनिक नेपाल २०७८ माघ ८ गते ७:३८

काठमाडौं, ८ माघ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले वैशाख–जेठमा संघीय संसद्को निर्वाचनको प्रस्ताव रोकेर सत्तागठबन्धनले तीनै तहको चुनावमा जोड दिएको छ ।

गठबन्धनको पछिल्लो निर्णयले वैशाख–जेठमा प्रतिनिधिसभाको निर्वाचनमा जाने प्रचण्ड र नेपालको प्रस्ताव तत्कालका लागि स्थगन भएको छ । आफ्नो पार्टीभित्र छलफलै नगरी प्रचण्ड र नेपालले यस्तो प्रस्ताव अगाडि सारेका थिए ।

शुक्रबार समन्वय समितिको बैठकमा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले संविधानको प्रावधान र मर्म तथा लोकतन्त्रको मूल्य र अभ्यासको जगमा निर्वाचनबारे निर्णय लिनुपर्ने भन्दै संसद्को कार्यकाल नसकिँदै संघीय संसद्को चुनावमा जान नहुने मत राखेका थिए । उनले गठबन्धनलाई संविधान मिच्ने सुविधा नरहेको पनि बताएका थिए ।

बैठकमा नेता श्रेष्ठको प्रस्ताव थियो, ‘हामीले संविधान र संसद्को सर्वोच्चताका कुरा गरेर आयौँ । यही विषयमा अदालतमा मुद्दा पनि लड्याै । तर, अदालतको फैसला र जनताको मतविपरीत कार्यकाल नसकिँदै संघीय संसद्को चुनावमा जाने कुरा संवैधानिक हुँदैन, यसमा पुनर्विचार गर्नुपर्छ । यसले गठबन्धन र सरकारको काम प्रभावित गर्छ । गठबन्धनलाई संविधान मिच्ने सुविधा छैन ।’

वैशाखमा संघीय संसद्को चुनावमा जाँदा प्रतिनिधिसभा विघटन गर्नुपर्ने र यो पुनः अदालती विषय बन्न सक्ने गठबन्धनका नेताहरूमा डर छ । श्रेष्ठको प्रस्तावमा प्रधानमन्त्री शेरबहादुर देउवाको पनि समर्थन, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष नेपालले पनि समर्थन जनाएका थिए ।

त्यसपछि गठबन्धनमा स्थानीय तहको निर्वाचनको मितिसम्बन्धी द्विविधा हटाएर संविधानअनुसार तीनै तहको चुनाव गर्ने सहमति बनेको थियो । नेपालले संघ, प्रदेश र स्थानीयसहित तीनवटै तहको निर्वाचन मंसिरमा हुनुपर्नेमा जोड दिँदै आएका छन् । त्यसका लागि संवैधानिक र कानुनी व्यवधान भए हटाएर जानुपर्ने उनको भनाइ छ, आजको नयाँ पत्रिका दैनिकले समाचार लेखेको छ ।

प्रतिक्रिया
सम्बन्धित