शुक्रबार, १६ चैत २०८०
DainikNepal.com
शुक्रबार, १६ चैत २०८०

प्रधानमन्त्री देउवालाई प्रश्नः के यो त्यही ०५९ को अवस्था सिर्जना गर्न खोजेको हो ?

दैनिक नेपाल २०७८ माघ ८ गते १७:२२

काठमाडौँ, ८ माघ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का नेता तथा बाग्मती प्रदेशका सांसद रामेश्वर फुयाँलले तत्काल स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न माग गरेका छन् ।

उनले आगामी २०७९ जेठ ६ गते विहान १० बजे नै स्थानीय तहको कुर्सीमा निर्वाचित जनप्रतिनिधिहरुले शासन गर्न पाउने व्यवस्था गर्न सरकारसमक्ष माग गरेका छन् ।

शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा नेता फुयाँलले देशमा अनिर्वाचित सत्ताको संविधानले परिकल्पना नगरेको स्पष्ट पारे ।

उनले भने, ‘जनताबाट निर्वाचित प्रतिनिधिले नै देश बनाउने हो । ०५९ सालमा अहिलेका प्रधानमन्त्री शेरबहादुर देउवा नै प्रधानमन्त्री हुनुहुन्थ्यो, हामी निर्वाचित प्रतिनिधि थियौं । उहाँले त्यतिखेर निर्वाचित निकाय खाली गर्नुभयो । आज हामीले बनाएको संविधान छ, यो संविधानले अनिर्वाचित सत्ताको परिकल्पना गरेको छैन् । र, अनिर्वाचित सत्ता एक पल पनि चल्दैन् । त्यसो भएको हुनाले आगामी २०७९ साल जेठ ६ गते १० बजे स्थानीय तहको कुर्सीमा निर्वाचित प्रतिनिधिहरुको शासन हुनुपर्छ । यो हाम्रो माग हो ।’

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बोल्दै उनले स्थानीय तहको निर्वाचन बैशाखमा नै गर्नुपर्नेमा जोड दिए ।

उनले भने, ‘अहिले संघीय संसद्को चुनाव बैशाखमा गर्ने कुरा पनि आएको सुनियो, गहुँ काट्ने चुनाव धान काट्ने बेला, गहुँ र धान त्यही खेतमा काट्न सम्भव छ ? यो गोलमाल गर्ने, अव्यवस्थागर्ने, के यो त्यही ०५९ को अवस्था सिर्जनागर्न खोजेको हो ? बानी लागेपछि त्यस्तै–त्यस्तै तलतल लागेको हो । यो परमादेशको सरकार हो । परमादेशमा पनि यसले कार्यकालभरि त काम गर्नुपर्छ । प्रदेश सभा त्यसै भंग हुन्छ ? कानूनी र संवैधानिक प्रावधान हेर्नुपर्छ ।’

उनले निर्वाचित जनप्रतिनिधिहरुविहीन स्थानीय तह बनाउन नहुने दोहोर्याए । उनले स्थानीय जनप्रतिनिधिहरुको कार्यकाल संविधानमा नै ५ वर्षको तोकिएको सुनाए ।

संविधानको धारा २२५ त्रुटिपूर्ण थियो या थिएन त्यो विषयमा पछि छलफल गर्ने उनको भनाई छ । उनले लोकतन्त्रलाई राम्रो र बलियो बनाउनको लागि संविधानले राम्रो व्यवस्था गरेको दाबी गरे ।

२०७४ मा तीन चरणमा स्थानीय तहको निर्वाचन भएको स्मरण गराउँदै अब पहिलो चरणको निर्वाचनलाई कानूनी मान्यता दिने भनिएको पनि बताए ।

उनले भने–‘अहिले स्थानीय तहको निर्वाचनको बेला भएको छ । यो ठीक बेला छ । कानून र संविधानले पनि यही व्यवस्था गरेको छ । यसमा ढिलाई गर्नुहुँदैन् ।’ नेता फुयाँलले भने–‘परमादेश सरकारले परमादेश मान्छ कि मान्दैन् ? यो प्रश्न नेपाली जनताले उठाउनुपर्छ । स्थानीय तहको निर्वाचन पहिला हुनुपर्छ । अरु जोड्न खोजिएको भनेको गोलमाल गर्नको लागि हो ।’

प्रतिक्रिया
सम्बन्धित