शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

फेरि कोभिड संक्रमण फैलिन थालेपछि प्रधानमन्त्रीको बिहे स्थगित

दैनिक नेपाल २०७८ माघ ११ गते ८:०७

न्यूजील्याण्ड, ११ माघ । न्यूजील्यान्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले कोभिडसम्बन्धी नयाँ प्रतिबन्धहरू घोषणा गर्दै आफ्नै बिहेको कार्यक्रम पनि स्थगित गरेकी छन् ।

ओमिक्रोन भेरिअन्टका कारण कोरोना भाइरस सङ्क्रमण बढेपछि पूरै न्यूजील्यान्डमा कोभिडसम्बन्धी उच्च तहको प्रतिबन्ध लगाइएको छ ।

प्रतिबन्धात्मक कदमअन्तर्गत कोभिड खोप लगाएका १०० जनाभन्दा बढी व्यक्तिलाई कार्यक्रमहरूमा सहभागी हुन नदिने तथा पसल एवम् सार्वजनिक यातायातमा मास्क लगाउनुपर्ने लगायत नियम रहेका छन् ।

न्यूजील्यान्डमा १५ हजार जनभन्दा बढी मानिसमा कोभिड पुष्टि भएको छ भने ५२ जनाको कोभिडका कारण मृत्यु भएको सरकारी तथ्याङ्क छ ।

टेलिभिजन प्रस्तोता क्लार्क गेफर्डसँग आफ्नो बिहेको कार्यक्रम अगाडि नबढ्ने कुरा आइतबार संवाददाताहरूसँग आर्डर्नले पुष्टि गरेको बीबीसीले उल्लेख गरेको छ ।

‘न्यूजील्यान्डका हजारौँ मानिसलाई महामारीले असह्य पीडा दिएको छ, अझ सबैभन्दा पीडाको कुरा एकदमै बिरामी रहेका आफ्ना मान्छेलाई तपाईँ भेट्न असमर्थ हुनु हो । म आफूचाहिँ फरक व्यक्ति हुँ भन्ने आँट म कसरी गर्न सक्छु,’ प्रधानमन्त्रीले भनेकी छिन् ।

स्थानीय समयानुसार आइतबार मध्यरातदेखि त्यहाँ नयाँ प्रतिबन्धहरू कार्यान्वयनमा आएका छन् । ओमिक्रोन भेरिअन्ट सङ्क्रमण भएका नौवटा समूह फेला परेपछि प्रतिबन्धहरू लगाइएको हो ।

अकल्यान्डमा एउटा बिहेको कार्यक्रममा सहभागी भएको एक परिवारका सदस्यहरू साउथ आइल्यान्डस्थित घर फर्केपछि सङ्क्रमित भएको पुष्टि भएको छ । हवाई यात्राका अर्का एक व्यक्ति पनि सङ्क्रमित भएको पाइएको छ ।

समूहबाट समुदायमा सङ्क्रमण सर्ने क्रम उच्च हुने अधिकारीहरूले बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित