बुधबार, १२ वैशाख २०८१
DainikNepal.com
बुधबार, १२ वैशाख २०८१

‘प्रेमगन्ज’को कवितामय टिजर सार्वजनिक, टिजर सेयर गर्दा पुरस्कार पाइने

दैनिक नेपाल २०७९ वैशाख ४ गते ८:५७

काठमाडौं, ४ वैशाख । आगामी भदौ ३ गतेलाई प्रदर्शन मिति तोकेको चलचित्र ‘प्रेमगन्ज’ले टिजर सार्वजनिक गरेको छ ।

राजधानीमा शनिबार सम्पन्न विन्ध्यवासिनी म्युजिक अवार्डमा उक्त चलचित्रको टिजर सार्वजनिक गरिएको निर्माण टीमले जानकारी दिएको छ । सञ्जय लामाले खिचेका सुन्दर दृश्यमा कविता र चरित्रलाई एकाकार गराउँदै निर्देशक परिच्छेद सेनले दर्शक उत्सुक बनाउने टिजर सार्वजनिक गरेका छन् ।

टिजरले फिल्म प्रेमकथा भएको र चलचित्रमा दुई पुस्ताको प्रेमकथा भएको छनक दिएको छ । टिजरमा सुरक्षा पन्त र बेनिशा हमालसँगै नव प्रवेशी तेज गिरीको प्रभावशाली उपस्थिति महसुस गर्न सकिन्छ । टिजरमा बाल कलाकार राइडर प्रशान्त र सिमरन खड्काको पनि अभिनय अटाएको छ ।

अनन्तमान श्रेष्ठ कार्यकारी निर्माता रहेको चलचित्रलाई परिच्छेद सेनले नै लेखेका हुन् । निर्माण टिमले फिल्मको टिजर कपिराइट फ्रि रहने जनाएको छ । यति मात्र होइन निर्माण टिमले युट्युब, फेसबुक तथा टिकटकमा टिजर राखेर धेरै दर्शकलाई देखाउनेलाई २५ हजार, १४ हजार र १० हजार पुरस्कारको पनि व्यवस्था गरेको छ ।

यो अफर वैशाख तीन गतेदेखि शुरू भएर साउन २५ गते सम्म चल्ने छ । श्रेष्ठका अनुसार टिजर सामाजिक सञ्जालमा सेयर गर्दा ह्यासट्याग प्रेमगन्ज भदौ ३, प्रेमगन्ज हेर्ने दिन भनेर चलचित्रको अफिसियल पेजमा मेन्सन गर्दै सेयर गर्नुपर्ने छ ।

भिडियो बुढासुब्बा युट्युब च्यानलबाट डाउनलोड गरेर अपलोड गर्न सकिने पनि निर्माण टीमले जनाएको छ ।

चलचित्रमा बेनिशा हमाल, सम्पदा बानियाँ, पबन भट्टराई, सुप्रिया खनाल, राइडर प्रशान्त, सिमरन खड्का आदि कलाकारको अभिनय रहेको छ । यस्तै, नरेश पौडेल, रश्मी भट्ट, सञ्जोग रसाइली, गीता अधिकारीको पनि अभिनय देख्न सकिन्छ ।

स्पट व्यायका रुपमा लामो समय काम गरेका राजु फुयालको प्रस्तुति रहेको फिल्म चलचित्र चौतारीको ब्यानरमा बनेको हो । यस फिल्मका कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ हुन् । सञ्जय लामाको छायांकन रहेको फिल्म डेढ करोडको लगानीमा बनेको हो ।

प्रतिक्रिया
सम्बन्धित