शुक्रबार, १४ वैशाख २०८१
DainikNepal.com
शुक्रबार, १४ वैशाख २०८१

भर्जिनियामा कुन्ती मोक्तान, अन्जु पन्त, प्रकाश सपुत तथा किरण गजमेरले तताए दर्शक (फोटोफिचर)

विजय थापा २०७९ वैशाख १२ गते ८:०५

-विजय थापा

भर्जिनिया । नेपाली अमेरिकन सामुदायिक केन्द्र– न्याक भर्जिनियाले नयाँ नेपाली वर्षको उपलक्ष्यमा आयोजना गरेको वृहत सांगीतिक साँझ कार्यक्रम ऐतिहासिक हुनुको साथै अपार सफलताको साथ सम्पन्न भएको छ ।

कोरोना महामारीको कारण दुई बर्ष सम्म उकुस मुकुस भएका डिसी महानगर क्षेत्र वरपरका नेपाली समुदायको खचाखच भिड रहेको उक्त कार्यक्रममा राष्ट्रिय स्तरका प्राप्त लोकप्रिय कलाकारहरुले बेजोड प्रस्तुति गरेका थिए ।

लामो समय पछि भर्जिनियामा आयोजना भएको सांगीतिक कार्यक्रममा दर्शकहरुले कलाकारहरुको प्रस्तुतिमा साथ दिएका थिए ।

कलाकारहरुले अत्यधिक मन पराएका र अत्यधिक श्रवण गरिएका गीतहरु प्रस्तुति गर्दा दर्शकहरुले मन थाम्न नसकी कार्यक्रम कक्षको अगाडी ,बीच र छेउछाउमा मस्त संग झुमेका थिए । दर्शकहरुले कलाकारहरुका प्रस्तुत गीत संगै स्वरमा स्वर मिलाउदै र कलाकारहरु झुम्दा उनिहरु पनि नृत्यमा डुबेका थिए ।

कार्यक्रममा यस क्षेत्रका नेपाली समुदायहरु तीन पुस्ताहरु पनि संगै कार्यक्रम हेर्न र कलाकारहरुलाई हौशला प्रदान गर्न आएका थिए । अमेरिकामा जन्मिएका दोश्रो पुस्ताले समेत भरपूर मनोरंजन तथा आनन्द लिएका थिए । उपस्थित सबैले कार्यक्रम अद्वितीय र सबै कलाकारहरुको स्तरीय प्रस्तुतिले कार्यक्रमको समय बितेको पत्तै नभएको महसुस थुप्रै दर्शकहरुले गरेका थिए ।

कैयौ दर्शकहरु पुरै टिकट(प्रवेश पत्र)हरु बिक्रि भएको कारण फर्कनु समेत परेको थियो । भर्जिनियामा एकै मंचमा एकै पटक राष्ट्रिय स्तरका अत्यधिक लोकप्रिय कलाकारहरु चर्चित गायिका कुन्ती मोक्तान ,लोकप्रिय गायिका अन्जु पन्त ,हाल सर्वाधिक माग भएका प्रकाश सपुत तथा सबैका मनपर्ने गायक किरण गजमेरको बेजोड प्रस्तुतिको कारण दर्शकहरु खुसिले गदगद र प्रफुल्ल हुदै नाचेका थिए ।

गायिका कुन्ती मोक्तानले आफ्ना दर्शकहरुलाई मन पर्ने उनका कालजयी गीतहरु माथि माथि सैलुंगेमा लगायत गीतहरु प्रस्तुत गरेकी थिइन् भने उनका पति शिला बहादुर मोक्तान तथा उनलाई सम्मान गरिएको थियो ।

अन्जु पन्तले पनि आफ्ना केही चर्चित गित गाउदै आफू मंचमै झुम्दा दर्शकहरुले साथ दिएका थिए । उनले सुर्के थैली लगायत केही गीहरु प्रस्तुति गरेकी थिइन् । गायिका पन्तले भर्जिनियाकी गीतकार बिमला निरौलाले लेखेको र उनले पहिले गएको गीत पनि केही हरफ गाएकी थिइन् । सो कार्यक्रममा अन्जु पन्तककी पति थीर कोइरालाको पनि उपस्थिति रहेको थियो ।

त्यस्तै गरि भ्वाईस अफ नेपाल मौषम ३ का बिजेता युवा गायक किरण गजमेरले अझ माहौल तताएका थिए । उनले गीत सुरु हुनासाथ दर्शक झुम्न र टिकटक र सामाजिक संजालमा उनीसंगै झुमेका प्रत्यक्ष प्रस्तुति प्रकाशन गर्न दर्शक तछाड र मछाड जस्तै गरि मंच मुनि उनलाई घेरेका थिए । गजमेरले पनि आफ्ना चर्चित गीतहरु पस्केका थिए ।

कार्यक्रमका मुख्य आकर्षण मध्ये कै चर्चित कलाकार प्रकाश सपुत मंचमा आउदा अझ दर्शकहरु औधि रमाएका थिए । उनले पनि आफ्ना ज्यादै चलेका गीतहरु पस्केका थिए भने उनले गीत गाउदासंगै दर्शक झुमेका थिए । समयको अभावको कारण धेरै गीतहरु प्रस्तुति गर्न नपाएता पनि उनले दर्शकलाई बेजोड नचाएका थिए ।

कार्यक्रममा अमेरिकाका लागि नेपाली राजदुत श्रीधर खत्री प्रमुख अतिथि रहेका थिए भने मंचमा न्याकका अध्यक्ष चिकित्सक मदन उप्रेतीले छोटो बोलेका थिए ।

कार्यक्रमकी मुख्य संयोजक बिना खड्का लामा लगायत स्वयमसेवकहरुले कार्यक्रम बीचमा छोटो केही कुराहरु राखेका थिए ।

यो कार्यक्रमबाट उठेको सहयोग रकम खर्च कटाएर न्याक भवन मर्मतमा लगाइने छ भने कार्यक्रम संचालन बिकी पुलामी तथा निशा पाठकले गरेका थिए ।

कार्यक्रममा स्थानीय कलाकारहरुको पनि केही प्रस्तुतिहरु राखिएको थियो भने नेपाली राष्ट्रिय गान र अमेरिकी राष्ट्रिय गान सामुहिक रुपमा प्रस्तुति गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित