शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

गठबन्धनको महाविपत्तिमा लोकतन्त्र

बीबी श्रेष्ठ २०७९ वैशाख २० गते १०:१९

बीबी श्रेष्ठ

गठबन्धन अर्थात् जोड । यो जोडको अन्तर्यले लोकतन्त्रको सुन्दर पक्षलाई नै धुमिल बनाइदियो ।

गठबन्धनको अन्तर्य के भन्ने कुरामा धेरै घोत्लिन अबका दिनमा आवश्यक भएन । किनकी यसको अन्तर्य आम जनताले वुझिसकेका छन् । लोकतान्त्रिक पद्धतीमा गठबन्धनले दिने नतिजाले कस्तो प्रभाव पार्ला भन्ने कुरा विगतको निर्वाचनदेखि नै प्रष्ट भइसकेको छ । जसले गर्दा गठबन्धन लोकतन्त्रका लागि घातक शिवाय अन्य हुन सक्दैन ।

नेपालको राजनीतिलाई नजिकवाट नियाल्ने हो भने राजनीति देश र जनताका लागि नभइ व्यक्तिगत लाभका लागि हो भन्ने प्रष्ट भइसकेको छ । यो सबै कुरामा प्रष्ट हुँदाहुँदै पनि फेरि गठबन्धनको प्रयासले राजनैतिक दलका नेताहरू आम जनता र देशप्रति वफादार छैनन भन्ने कुरा प्रष्ट भइसकेको छ । फेरि पनि गठबन्धनको नाराले नेताहरूको चरित्र थप उदाङ्गो बनेको छ । यद्यपि अझै पनि जनतालाई गुमराहमा राख्न प्रयत्नमा केही जनताका नाममा गुलामी गर्नेहरूले भगिरथ प्रयत्नरत वनेको पाइन्छ ।

जव विचार र सिद्धान्त हराउदै जान्छ, तव स्वार्थताका विभिन्न तत्वहरू विभिन्न शीर्षकमा मुखतरित बन्न पुग्दछ । त्यसैको पटाक्षेप हो, गठबन्धन । केही पहिला प्रतिगमन र उग्रगमनको नारा उचालेर जनतालाई मुर्ख बनाएका नेपालको नेताहरू अहिले चुनावको सम्मुखमा गठबन्धनको नारा दिई आफनो सिट सुरक्षित राख्न अभ्यस्त बनेका छन् । गठबन्धन भनेको नै मिलेर लुटने प्रक्रिया हो । मिल्नेका नाममा शासक बन्ने भूत सवार वनेको कमजोर मानसिकताको धोतक हो गठबन्धन । जुन हरेक पक्षमा पाउन सकिन्छ ।

विचार र सिद्धान्तले नेतृत्व गर्नुपर्नेमा यो नै छाँयामा परेपछि दम्भ र घमण्ड नै प्रधान बनिदियो । राजनीतिको नाममा दोहन गर्नेहरू हावी बनिदिदा इमान्दारिता, नैतिकता छाँयामा पर्न गयो । यो वा त्यो वहानामा लुटना चाहनेहरू जसरी पनि सत्ता र शक्तिमा पुग्ने र राज गर्ने सोचमा गठबन्धन प्रधान बनिदियो । राजनीति सबैको नीति बन्नुपर्नेमा सिमित व्यक्तिको मागी खाने बाटो बनिदियो । यो नै नेपालको सन्र्दभमा घातक बनिदियो ।

नेपालको राजनीतिलाई राणाशासनको अन्त्य र प्रजातन्त्रको उदय पाश्चातलाई नजिकवाट नियाल्ने हो भने एकाध वाहेक राजनीति स्वार्थ केन्द्रित भन्दा बाहिर निस्कन सकेन । व्यवस्था आफैमा नराम्रो हैन, तर व्यवस्थाका राजगाज गर्नेहरूको हालीमुहालीले अन्तत नयाँ पुस्ताका लागि राजनीतिप्रति नै घृणाको विषय बनिदियो । जसका कारण हजारौ युवापुस्ताहरू व्यक्तिगत जीवन उत्थानका लागि विदेशीन वाध्य बनिदियो । सही ट्रयाकमा ल्याउने केही प्रयत्नहरू फगत बनिसकेपछि उर्जाशिल युवाहरूको वितृष्णाले अन्ततले नेपालको आर्थिक भौतिक विकासका लागि लामो समयसम्म गिजोल्ने पक्का छ ।

यहि पेरिफेरिमा घुमेको नेपालको राजनीति अझै केही समयसम्म यहि दरिद्रतामा गुज्रनेमा कुनै शंका छैन । आस्था र विश्वासको कडी भनेको विचारको नविनता हो । यसका लागि स्वार्थ केन्द्रित हुनुहुँदैन । त्यहि विचारमा समाहित हुनेहरूको मोर्चाको गोलवन्दी राजनैतिक पार्टी हुनुपर्नेमा स्वार्थको झुण्डलाई नै राजनीति र नेताहरूको उपमाले अन्तत नेपाल नराम्रो सँग फस्न पुगेको छ । यहि तरलतामा फसेको नेपालको विकास र समृद्धिका लागि देशले अझै केही समय कुर्न पर्ने देखिएको छ । विचार र दृष्टिकोण केही समयसम्म छाँयामा परेता पनि अन्तत सत्य सत्य हुन्छ भन्नेमा कुनै शंका छैन ।

फरक यति हो कि यसको पुग्ने वाटो र समय भने फरक फरक हुन सक्नेछ । धमलिएको नेपालको राजनीति प्रतिको चेतनामा केही अव्वलता आएता पनि यसको नविनतम प्रयोगमा भने यो अल्पमतमा रहेको पाईन्छ । व्यवहारिक कार्यन्वयन र सोचको समाधि मिलाउने हिम्मत पुरानो पुस्तावाट सम्भव छैन, नयाँ पुस्ताको हिम्मत निर्णायक नहुने र पुरानो सोचका प्रतिमुर्तिहरू हावी भइरहदाँ युवा पुस्ता हरू राजनीतिवाट नै वितृष्णा हुने तिव्रता वढेको छ । यहि अन्योन्याश्रित सम्वन्धमा वढेको नेपालका राजनीति फेरि पनि नयाँ वोतलमा पुरानै रक्सी वाहेक अन्य हुन सक्दैन । सारमा हुने भनेको नै यहि हो ।

राजनीतिलाई नजिकवाट नियाल्नका लागि मानव जातिको जीवन प्रद्धती, यसको महत्व र आम जीवनको सारलाई वुझन जरुरी छ । जुन एकमात्र सत्य हो । तर सत्यतामा जीवन यापन गर्न सहज छैन । मानव जाति असहज र चुनौतीलाई सामना गर्न सक्दैन । जीवनको सार समेत नवुझि जीवन समाप्त गर्नेहरूको भीडमा पृथकताको राजनीति गर्न त्यति सहज छैन । जसरी पनि जिउने अभ्यस्त वनेका आम मानव जातिहरू अन्तत आफनो सहजताका लागि गरिने जस्तो सुकै कर्ममा पनि अनुकुलता रोज्न पुग्छन्, त्यहीवाट शुरु हुन्छ राजनीति । त्यो राजनीति समाज र देशका लागि नभै व्यक्तिगत लाभहानीमा केन्द्रित वन्दछ । स्वार्थभन्दा बाहिर गएर गरिने कर्म र सोच भनेको अल्पकालिन बनिदिन्छ । अहिलेको अवस्थाको चित्रण यति हो । यो भन्दा पृथक हुन सक्दैन ।

जव विचार मर्दछ, स्वार्थताले मानव जीवन ग्रसित वन्दछ । अनि जुन कर्मलाई पनि राजनीतिको लेपन लगाईन्छ । नेतृत्वका लागि विचार र दृष्टिकोण हैन, आर्थिक औकात गएर हेर्ने गरिन्छ । वाहुवलीको दवदवाले शासन र शक्ति आर्जन गरिन्छ भन्ने सोचले गाडेको मनसपटलमा विचार, नीति र सिद्धान्त विलिन भएको छ । त्यहि पेरिफेरीमा घुमेको राजनीति विचार र सिद्धान्तको मिलनमा गठजोड हैन । जसरी पनि जित्ने र कमाउनेहरूको दवदवामा गठबन्धन साधन बनिदिन्छ ।

परिवर्तनका नारा, समावेशीता, अल्पसंख्यक, समानता र समाजवाद विचार र दृष्टिकोणका सुचक हुन् । त्यसैका आधारमा अगाडी वढेको नोपलका राजनीति अन्तत्वगोत्वा परिवारवाद, धनवाद, डनवाद र अवसरवादमा स्वखलित वन्न पुगेको छ । दृष्टिकोणमा असमानताको पहाड हुदाँ हुदै पनि गरिने साँठगाँठ यसैका उपज हुन । पार्टी देखाउने दाँत वनेको छ ।

पार्टीको घोषणापत्र, कार्ययोजना, विचार र दृष्टिकोण शक्ति र सत्ताका अगाडी लाचार सावित वनेको छ । त्यसैको मतियार हामी वनेका छौ । अहिलको राजनैतिक पटाक्षेप यहि हो । पार्टीको सिद्धान्त र विचार दृष्टिकोण देश र जनताका लागि हैन, व्यक्ति केन्द्रित वनेका छन् । जोडको पनि आफनै परिभाषा छन् तर त्यसको पनि अवमूल्यनमा अभ्यस्त बनेका छन् ।

अवसरवादको चर्को दवदवा रहेको नेपालको राजनीति पार्टी र नेतृत्वको विचार र दर्शनमा धमिरा लागेको छ । अनुकुलताका लागि विगतमा जस्तो सुकै भूमिका भएता पनि जित्ने र जिताउने नाममा गरिने कर्महरू देश र जनताका लागि अभिशाप हुन् । जुन अभिशा प्राप्तीका लागि आम मानव जातिहरू जीवनका यथार्थता बाहिर गएर तछाड मछाड गरिहेका छन् ।

अव्वलताका लागि प्रतिपर्धा, विचार र दृष्टिकोणका लागि प्रतिष्पर्धा, समाज परिवर्तनतका लागि प्रतिष्पर्धा जीवनका मुख्य कार्यभार हुन् । सामुहिकताका लागि राजनीति यसका सुन्दर पक्ष हुन् । जव विचारशून्य हुन्छन् । विचार र दर्शन छाँयामा पर्दछ । शक्ति उन्माद व्यवहार लोकतन्त्रका लागि सह्यै हुन सक्दैन । तर पनि यहि कुचक्रमा फसेको नेपालका राजनीतिले अन्तत्वगत्व त्यो भन्दा पृथक हुन सकेन ।

गठबन्धन भनेको समान्य भाषामा लुटेर मिलिजुली खाने मेसो हो । लोकतन्त्रमा विचार, योग्यता र क्षमताले प्रशय पाउनु पर्ने हो र लोकतन्त्रमा विचारको प्रतिपष्र्धा नैे सुन्दर पक्ष हो ।

स्वार्थलाई बाहिर राख्ने हिम्मत नहुनेहरूले गठबन्धनका नाममा देश नै लुटिरहे, हामी मतियार बनिरह्यौ । देशमा देखिएको अहिलेको वेथिती यसैको घोतक हो । जुन घोतक पक्षको पक्षपोषण गर्न हामी लालयित बनिरहेका छौँ । शक्ति र सत्ताका लागि जीवन र समाजको न्युनतम मान्यता समेत छाँयामा पर्दो रहेछ । जुन विभिन्न तन्त्रका नाममा पटाक्षेप हुँदै आइरहेका छन् ।

प्रतिक्रिया
सम्बन्धित