शनिबार, ८ वैशाख २०८१
DainikNepal.com
शनिबार, ८ वैशाख २०८१

मोदीको लुम्बिनी भ्रमण : धार्मिक कूटनीतिबाट सम्बन्ध सुधारको प्रयास

मलाई नेपाल आउँदा कुनै राजनीतिक भ्रमणभन्दा छुट्टै आनन्द आउँछ

दैनिक नेपाल २०७९ जेठ ३ गते ८:३८

काठमाडौं, ३ जेठ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले धार्मिक कूटनीतिबाट नेपालसँगको सम्बन्ध सुधारको प्रयास गरेका छन् । २५६६औं बुद्ध जयन्तीको अवसरमा सोमबार लुम्बिनी आएका मोदीले आफूलाई राजनीतिकभन्दा पनि धार्मिक भ्रमणबाट आनन्द मिल्ने बताए ।

मोदीले नेपाल प्राचीन सभ्यताको प्रतीक रहेको बताउँदै नेपाल आउँदा आफू अत्यन्तै खुसी हुने बताएका थिए । उनले नेपाली भाषामा भनेका थिए, ‘मलाई नेपाल आउँदा कुनै राजनीतिक भ्रमणभन्दा छुट्टै आनन्द आउँछ ।’

उनले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले बनारसलगायतका धार्मिक स्थलको भ्रमण गरेको स्मरण गर्दै त्यसले नेपाल र भारतको सम्बन्धलाई थप बलियो बनाएको बताए । मोदीले घुमाउरो ढंगमा नेपालसँग धार्मिक कूटनीतिबाट सम्बन्ध विस्तार गर्न चाहेको बताएका छन् । नेपालसँग सम्बन्धमा चिसोपन आइरहेका बेला मोदीले धार्मिक कूटनीतिको प्रयास गरेका हुन् ।

दुई देशबीच घनिष्ठ सम्बन्ध रहेको बताउँदै उनले भने, ‘जनकपुरमा मैले भनेको थिएँ, नेपालबिना हाम्रा राम पनि अधुरै हुन्छन्, आज भारतमा बनिरहेको राम मन्दिरबाट नेपाल पनि उति नै खुसी छ भन्ने मलाई विश्वास छ ।’ उनले भौगोलिक सीमाभन्दा माथि उठेर गौतम बुद्ध सबैका भएको बताए, आजको राजधानी दैनिकमा विक्रम खड्काले बुटवलबाट समाचार लेखेका छन् ।

प्रतिक्रिया
सम्बन्धित