बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

के एमाले विभाजन गर्दाको पश्चातापमा छन् झलनाथ खनाल?

दैनिक नेपाल २०७९ जेठ ५ गते ९:०४

काठमाडौं, ५ जेठ। स्थानीय तहको निर्वाचनमा गठबन्धनमा गरिएको भागवन्डामा नै असन्तुष्टि जनाइरहेका नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनाल परिणाम आउने क्रममा पनि रुष्ट देखिएका छन्।

गठबन्धन सरकार र त्यसमा पनि नेकपा माओवादी केन्द्रप्रति रोष देखाउन थालेका खनालले प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माको आलोचना गरेका थिए।

लगत्तै निर्वाचनमा आइरहेको परिणाममा पनि रुष्ट उनले आफ्नो पार्टी गठबन्धनमा नरहेको बरु कांग्रेस र माओवादीको मात्र भएको व्यंग्यात्मक टिप्पणी गरेका छन्। त्यतिमात्र होइन नेकपा एमाले विभाजन गरेको पश्चाताप लाग्ने संकेतसहित उनले आगामी निर्वाचनमा सहकार्य हुन सक्ने स्पष्ट बताइरहेका छन्।

‘अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीप्रति विमति रहनु एउटा कुरा भयो तर स्थापना गरी लामो समय सदस्यता बनाएको, नेतृत्व समेत गरेको पार्टी विभाजन गर्नु नमिठो हुने स्पष्ट नै छ’, खनालनिकट स्रोतले भन्यो,‘अब संघीय चुनावमा एकीकरणमा जाने कुरा पनि हुन्छ।’

त्यसो त एकीकृत समाजवादीका नेता कार्यकर्तालाई स्थानीय चुनावपछि फेरि कम्युनिस्ट एकीकरणमा नै जाने भन्ने विषयमा आन्तरिक रुपमा प्रशिक्षित नै गरिएको पनि बताइन्छ। चुनावमा पराजय भएको खण्डमा अध्यक्ष ओलीलाई पनि एकीकरण गर्नका लागि बाध्य पार्न सकिने बुझाई एकीकृत समाजवादीका नेताले राखेका छन्।

‘विभाजनले कमजोर बनाएको भन्ने अन्य नेतालाई भन्दा झलनाथ खनाललाई प्रतित भइसकेको छ। त्यसैले उहाँले संकेत गरिरहनुभएको हो’, स्रोतले भन्यो,‘स्थानीय तहको निर्वाचन परिणामका कारण अन्य नेतामा पनि यस्तै अनुभूति हुँदै जान्छ।’

प्रतिक्रिया
सम्बन्धित