बिहीबार, १३ वैशाख २०८१
DainikNepal.com
बिहीबार, १३ वैशाख २०८१

महानगरका बालेन, उपमहानगरका साम्पाङले गरे राजनीतिमा ‘लौरो’को ब्रान्डिङ

दैनिक नेपाल २०७९ जेठ ६ गते ९:०४

काठमाडौं, ६ जेठ। नेपाली राजनीतिमा चुनाव चिन्हको महत्व कति हुन्छ भन्ने प्रचारका क्रममा कांग्रेस, एमाले, माओवादीलगायतका अपिलले स्पष्ट पारेकै छ।

यस्तै, नेकपा विभाजनपूर्व सूर्य चुनाव चिन्ह कसको भन्ने विवादको जरोलाई केलाउँदा पनि यसको महत्व थापा हुन्छ। जसरी मुख्य दलका चुनाव चिन्ह सूर्य, रुख, गोलकारभित्र हसिँया हथौडा, कलम, छाता, साइकलको एउटा ब्रान्ड बनेको छ त्यसरी नै स्थानीय निर्वाचनमा काठमाडौं महानगरपालिका र धरान उपमहानगरपालिकाले अर्को चुनाव चिन्हलाई नयाँ ब्रान्डका रुपमा स्थापित गरेको छ।

काठमाडौं महानगरको अहिलेसम्मको मतगणनामा निरन्तर अग्रतामा रहेका बालेन्द्र साह (बालेन) र धरान उपमहानगरपालिकामा अग्रता हासिल गरेका हर्क साम्पाङ मेयरका स्वतन्त्र उम्मेदवार हुन्। तर, उनीहरूको चुनाव चिन्हचाहिँ लौरो हो।

हुन त पोखरामा लौरोको जादु त्यति चलेन। तर यसलाई बालेन र साम्पाङले राजनीतिमा नयाँ चुनाव चिन्हका रुपमा स्थापित गरिदिएका छन्।

काठमाडौंको मतगणनास्थल राष्ट्रिय सभा गृह आसपासमा बालेनका समर्थक लौरो बोकेर नाराबाजीमा हुन्छन्, दैनिक। लौरो बोकेका बालेनको तस्बिर त अझ भाइरल भइरहेको छ, सामाजिक सञ्जालमा।

त्यसैगरी धरानका साम्पाङ एक्लै लौरो बोकेर चुनावी प्रचारमा हिँडेका थिए। उनी सामाजिक अभियन्ता हुन्। उनी पनि लौरो बोकेर धरानका समस्या समाधानको उपायका लागि स्वतन्त्र उम्मेदवारलाई मत दिनुपर्छ भन्दै हिँडेका थिए।

‘नेपाली राजनीतिमा अब लौरो चुनाव चिन्ह एउटा स्थापित ब्रान्ड हुनेछ। स्वतन्त्र उम्मेदवारको चर्चासँगै लौरोको महत्व बलियो हुने भयो’, सर्वसाधारण भन्छन्,‘मत माग्दा व्यक्तिको नाममा भन्दा चुनाव चिन्हमा माग्ने प्रचलन छ, लौरो त्यहि प्रचलनको नयाँ ब्रान्ड हो।’

प्रतिक्रिया
सम्बन्धित